पाटनको त्यो रात: म हराएँ तर आफूले चाहेको कराँची पाएँ
०७२ सालको गर्मी यामको कुरा हो, पाकिस्तानी चित्रकार शना नासिर पाटनको गल्लीमा अलमलिइरहेकी थिइन् । यूएईमा जन्मिएकी, पाकिस्तानको कराँचीमा बस्ने गरेकी उनी त्यसबेला कला सम्बन्धी कार्यशाला गर्न काठमाडौं आएकी थिइन् ।
पाटनको अँध्यारो गल्लीमा उनलाई आफू कहाँ छु भनेर ठम्याउनै गाह्रो भयो । त्यसमाथि मोबाइलको ब्याट्री सकिसकेको थियो ।
यो त्यस बेलाको कुरा हो, जतिबेला काठमाडौंमा लोडसेडिङ हुन्थ्यो ।
‘म पूरै नदेख्ने स्थितिमा पुगेँ’, त्यो रात सम्झिँदै शना भन्छिन्, ‘सबै पसल बन्द भइसकेका थिए, निकै अँध्यारो भइसकेको थियो ।’
रातमा समेत जाग्ने कराँची जस्तो शहरमा बस्ने शनाको लागि त्यो एकदमै नौलो अनुभव थियो ।
‘कराँचीमा त हामी राति घुम्न निस्कन्छौं । घरबाट गाडीमा निस्किएर साथीहरूसँग भेटघाट गरेर फेरि गाडीमै फर्कन्छौं ।’
त्यो साँझ आफू हराएको भनेर पूर्ण आभाष हुँदै गर्दा शनाको मस्तिष्कमा नयाँ छाल उठेको थियो ।
‘मेरो जीवनमा म कहाँ छु र कता जाँदै छु भनेर सधैं थाहा हुन्थ्यो’, उनले सुनाइन्- ‘मैले आफूलाई सधैं गुगल म्यापमा कतै न कतै लोकेट गर्न सक्थेँ ।’
तर, त्यो रात उनलाई पाटनको कुन चाहिँ कुनामा रुमल्लिरहेको भनेर पत्तो भएन । आफू हराएको सत्य बिस्तारै स्विकारिन् ।
पर्यटकको रुपमा पहिलो पटक काठमाडौं आउँदा त्यसबेला उनले सायदै सोचेकी थिइन्, एकदिन यसै शहरको गल्लीमा हराउनेछु भनेर ।
पहिलो पटक आउँदा शनालाई काठमाडौं फरक लागेको थियो, पहिले घुमिसकेका युरोप र अमेरिकाका शहरहरूभन्दा निकै भिन्न । काठमाडौं उनको लागि घर जस्तै थियो ।
यूएईमा हुँदा उनलाई आफू पाकिस्तानी भएको र पाकिस्तानमा हुँदा अरबी भएको महसुस हुन्थ्यो । तर, काठमाडौं आउँदा उनलाई आफू ‘बाहिरिया’ लागेन ।
‘मेरा बा-आमाले मलाई उहाँहरु हुर्किँदाको कराँची शहरको वर्णन गर्नुहुन्थ्यो, जहाँ सबैले सबैलाई चिन्थे । मानिसलाई आफूले चाहेको लुगा लगाउन र मनमा आएको कुरा बोल्ने छुट थियो,’ उनले भनिन् ।
उनलाई झट्ट लाग्यो, उनकी आमाको कथाको कराँची आजको काठमाडौं जस्तै हुँदो हो !
यसैले काठमाडौंमा उनलाई आफू विदेशी महसुस भएन । अझ यहाँ त उनलाई सुरक्षित महसुस भयो ।
नेपाल र पाकिस्तानका साझा समस्या थुप्रै रहेको सिलसिला जोड्दै शनाले भनिन्, ‘पाकिस्तानमा जस्तै यहाँ धारा आउँदैन, बत्ती जान्छ अनि धुवाँ-धूलोको उस्तै समस्या छ । तर, काठमाडौंमा म सुरक्षित महसुस गर्छु । त्यही कुराले गर्दा मलाई यहाँ आइरहन मन लाग्छ ।’
कराँची शहरमा अपराध छ्यापछ्याप्ती छ । शनाका अनुसार, उनी कहिले आफ्नै घर अगाडि लुटिएकी छिन् त कहिले सडकमा ट्राफिक सिग्नल पर्खिरहेको बेला ।
नेपालबाट घर फर्केपछि उनले नेपाल जाँदा अनुभूति गरेको कुरा बा-आमालाई भनिन् । तर, उनीहरुले उनको कुरा पत्याएनन् । खासै रुचि पनि दिएनन् ।
‘मेरा बा-आमा म लन्डन वा अमेरिका गएको बेला खुशी हुनुहुन्छ । काठमाडौं जान्छु भन्दा अलि आश्चर्यमा पर्नुहुन्छ’, उनले सुनाइन् ।
शना र उनका सहकर्मी ड्यानियाल फेरि काठमाडौं आएका छन्, ‘काठमाडौं ट्रायनाले’ मा भाग लिन । उनीहरू शनाले गत वर्षको त्यो रात पाटनमा अनुभव गरेको कुरालाई कलात्मक रुपमा प्रस्तुत गर्ने तयारीमा छन् ।
पाटनको कृष्ण मन्दिर नजिकै उनीहरूको सिर्जनाको प्रदर्शनी हुनेछ, जहाँ दर्शकले प्रकाश र ध्वनिका माध्यमबाट शनाको अनुभवबारे जान्न सक्नेछन् ।
यो प्रदर्शनीमा उनको इच्छा के छ त ?
‘म चाहन्छु, दर्शकले मैले अनुभव गरेको कुरा महसुस गरून् । त्यो रात गल्लीमा भौंतारिँदा म पहिला आत्तिएकी थिएँ, त्यसपछि सम्हालिँदै शान्त भएको थिएँ । दर्शकले यी सबै भाव महसुस गरून् भन्ने चाहन्छु ।’
पाटनको खुला डबलीमा प्रदर्शनी गर्दैगर्दा शनालाई कराँचीमा पनि यस्तै कार्यक्रम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ।
‘कराँचीमा कला र संस्कृति ढोकाभित्र मात्र राख्न हामी बाध्य छौं । भविष्यमा यो परिवर्तन होस् र काठमाडौं जस्तै कराँची पनि खुल्ला होस् भन्ने म चाहन्छु ।’
शना नासिरको प्रदर्शनी ‘ए नाइट वाक् इन पाटन’ आउँदो बुधबार र बिहीबार (राति ७-११ बजे) पाटनमा हुने भएको छ ।
No comments: