Ads Top

जीवनसाथी पाउनका लागि के- के गरेका यी मान्छेले ?



काठमाडौं, १६ फागुन — अफ्रिकी मुलुक चाडमा एक हप्तादेखि वुडाबी कबिलामा एउटा समारोह आयोजना भइरहेको छ ।महिलाहरू पुरुष जीवनसाथीको खोजमा यस समारोहमा उपस्थित हुन्छन् । यही बेलामा उनीहरू सुन्दर मेकअप र अनुहार सजाउनमा आफूलाई व्यस्त राख्छन् । 

यही अवसरमा उनीहरू याके नामक पारम्परिक नृत्य गर्छन् । 

अफ्रिकाको यो एक मात्र यस्तो संस्कृति हो जसले महिलालाई आफ्नो जीवनसाथी छान्ने अधिकार दिन्छ । बिहे गरेका महिलाले पनि सेक्सका लागि कुनै पनि पुरुष छान्न सक्छन् । 

वुडाबी शताब्दियौंदेखि अफ्रिकाको यो हिस्साबाट पलायन गर्ने फुलानी र तुर्गे संस्कृतिको एक उपसमूह हो । 

विडाबीहरू साधारणतया दूध, दहीका साथसाथै मोटो चामल, गुलियो चिया र कहिलेकाहीँ बाख्रा वा भेडाको मासु खान्छन् । 

सूर्योदय हुनेबित्तिकै वुडाबी पुरुष समारोहमा भाग लिनका लागि तयार हसन्छन् । उनीहरू चिप्लो माटो, पत्थर र जनावरको हाडबाट बनेको पेस्टले अनुहारमा मेकअप गर्छन् । केही पुरुषहरू आफ्नो दाँत सेतो देखाउनका लागि ओठमा ब्याट्रीबाट निस्केको कालो रंग दल्छन् । 

समारोहमा भाग लिने पुरुषहरूले आफ्नो निधार चौडा देखाउनका लागि कपाल काट्छन् । नाच्दाखेरी आँखा नचाउने अनि सफा दाँत प्रदर्शन गर्ने गर्दा महिलाहरू रिझिन्छन् भन्ने मान्यता छ । 

काठबाट बनेको एक खाट र अलिकति सामान परिवारको कुल सम्पत्ति हो । पूरा परिवार सँगै एउटै खाटमा सुत्छन् । 

चिया पिउनु यो संस्कृतिको एक महत्त्वपूर्ण हिस्सा हो । एउटा रुखको बोक्रा पिसेर बनाइएको विशेष चिया मानिसहरू पिउँछन् । यसको प्रभाव मायावी हुने र यो पिएपछि घन्टौंसम्म नाच्न सकिने उनीहरूको विश्वास छ । 

पुरुष र महिलाले एकअर्कालाई फकाउनका लागि अनेकथरी मेकअप गर्छन् । मेकअपमा अनेकौं जादू शक्तिहरू हुन्छन् भन्ने यिनीहरूको मान्यता छ । सुन्तला रंगको पाउडर नाइजर नामक देशको जांगोरिया नजिकै एउटा पहाडनजिक पाइन्छ । केही कबिलाका मानिस त यो पाउनका लागि चौध सय किलोमिटर टाढादेखि आउँछन् । 

यसलाई गेरेवुल समारोह भनिन्छ र वर्षको एकचोटि हुने यो समारोहमा जीवनसाथी पाउने दबाब र अपेक्षा धेरै हुन्छ ।

वुडाबी महिलाहरू पुरुषको तुलनामा एकदमै कम मेकअप गर्छन् । तर उनीहरू पनि रूपरंगमा जोड दिन्छन् । कपाल सजाउन र चुल्ठो बाट्न उनीहरू जोड दिन्छन् । 

हप्ताभरि चल्ने समारोहको अन्त्यमा महिलाले हातको इशाराबाट आफ्नो पति चुन्छिन् । यो प्रक्रिया एकदमै छिट्टै सकिन्छ । महिलाले आफ्नो भावी पतिको आँखामा पनि हेर्दैनन् । 

सूर्यास्तको समयमा पुरुषहरू अस्ट्रिचको प्वाँखबाट बनेको टोपी लगाउँछन् । समारोह सकिएपछि पुरुषहरू बञ्जारा जीवनमा फर्किन्छन् । 

No comments:

Powered by Blogger.